काठमाडौँ । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।
जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।
सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका काँग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।
नयाँ सरकार गठनका लागि काँग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् । यो बजेट ल्याउँदा एमाले सरकारमै थियो । त्यसैले पनि बजेट निर्णयार्थ पेस हुँदा कसैले पनि हुन्न भनेनन् ।
बजेट पारित हुनु अघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताएका थिए ।
राष्ट्रिय सभाले अर्थमन्त्री पुनले प्रस्तुत गरेका बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
जसमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक रहेका छन् ।
यी तीन वटा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएका थिए ।







