काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबिच आयोग बनाउने सहमति नभएको बताएका हुन् ।
उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए । अध्यक्ष ओलीले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि बताए । उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको बताए । उनले राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे ।
ओलीले एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्यौलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको बताए । उनले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको बताए ।
उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरू मिलेको बताए । ओली स्वार्थलाई अग्र भागमा भएको र सङ्घीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताए । उनले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए ।
अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने बताए ।