डोटी । डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।
बुधवार जिल्ला खोप समन्वय समितिद्वारा आयोजित एक समारोहमा बिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको प्रमुख मलासीले बताए । विभिन्न रोगहरू विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरूले लगाएपछि प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको बताए ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गर्नका लागी सक्रिय रूपमा काम गरेकोले डोटी जिल्लाका नौ जना स्वास्थ्यकर्मी र दुई जना महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको समेत बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंहको अध्यक्षतामा भएको घोषणा समारोहमा स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक खगेन्द्र बम, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल जिल्ला समन्वय समिति उपप्रमुख, स्मृति चुनारा, दिपायल सिलगढी नगर पालिकाका बाजी सिंह खडका लगायतको उपस्थिति रहेको थियो ।
डोटी जिल्लालाई पहिलो पटक २०७५ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो ।