काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्न आवश्यक कागजातमा नेताहरुले हस्ताक्षर गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले अध्यक्ष ओलीको कार्यकक्षमा दलहरुबीच छलफल भएको थियो । त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन् ।
नेताहरूका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्ने बित्तिकै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्ने तयारी रहेको छ । छलफलपछि एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवासहित दलका नेताहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ ।