मुगु । हिमाली जिल्ला मुगुले २७ वर्षपछि संघीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली काँग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रतिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी विसं २०५३ सम्म मन्त्री रहे तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।
नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन्।
मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि
नेपाली काँग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहेका मन्त्री शाही जिल्लामा मदुभाषी र सालिन नेताका रूपमा चिनिन्छन्। गत निर्वाचनमा मुगुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित वि.सं २०२६ फागुनमा त्यहाँको सोरु गाउँपालिका-२ जडेपानीमा जन्मिएका थिए।
विसं २०४४/४५ देखि नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा लागेको शाही २०४८/०५१ र २०५२/५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिवसमेत भएका थिए । काँग्रेस जिल्ला सदस्य हुँदै उनी विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित भए । मन्त्री शाही विसं २०७८ मा दोस्रो पटक काँग्रेस जिल्ला सभापति निर्वाचित भए ।
विसं २०७० मा संविधान सभा सदस्य उम्मेदवार बनेका उनी झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी भए । शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गरेका थिए । शाहीले स्नातक तह उत्तीर्ण गरेका छन् ।