काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ । साथै यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाइ गरिएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले राजस्व सचिव डा.घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव डा. घिमिरेले अर्थ प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने विश्वास व्यक्त गरे ।
अर्थ सचिव डा. घिमिरेले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई धन्यवाद दिँदै सबैको साथ लिएर अघि बढ्ने बताए । सचिव मरासिनीले जहाँ रहे पनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा अर्थ मन्त्रालयलाई सहयोग गर्ने बताएका थिए ।







