डोल्पा । इलाका प्रशासन कार्यालय ईल डोल्पाबाट नागरिकता वितरण सेवा सुरु भएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले शुक्रवार गर्भवती महिलालाई नागरिकता प्रदान गरी सेवाको शुभारम्भ गरेका हुन् ।
इलाका प्रशासन कार्यालय ईलबाट नागरिकता वितरण सुरु भएपछि मुड्केचुला र जगदुल्ला गाउँपालिकाका नागरिकलाई नागरिकता लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । जिल्ला प्रशासन कार्यालय डोल्पाको निरन्तर प्रयास एवं गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमको सहयोगमा इन्टरनेट सेवासहितका पूर्वाधार तयार तथा जडान गरेपछि इलाका प्रशासन कार्यालयबाटै नागरिकता उपलब्ध गराउन सम्भव भएको उनको भनाई छ ।
यसअघि नागरिकता प्रणालीका लागि इन्टरनेट लगायतका पूर्वाधार नहुँदा सेवा प्रवाह हुन सकेको थिएन । जिल्लाको दक्षिण पश्चिम भूभागका जनतालाई सेवा दिने उद्देश्यले २०७३ सालमा इलाका प्रशासन कार्यालय स्थापना भएको हो ।
