काठमाडौँ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सिनियर ल्याब टेक्निसियन दीपेन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार हाल ल्याब अधिकृत आठौँ तहमा कार्यरत यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको हो । यादवले बढुवा प्रयोजनका लागि पेस गरेको बीएमएलटी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले आज विशेष अदालतमा मुद्दा गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार अनुसन्धानका क्रममा यादवले सरकारी पद (ल्याब अधिकृत, तह ९) मा नियुक्तिका लागि पेस गरेको भारतको विहारको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको बीएमएलटीसँग सम्बन्धित लब्धाङ्क पत्र, प्रोभिजनल प्रमाणपत्रसहित सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएको पाइएको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ । केही समय अघि उनको शैक्षिक प्रमाणपत्र छानबिनका लागि उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो ।