काठमाडौँ । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित भएका छन् ।
‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । आइएपिबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरू उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठनका रूपमा रहेको आइएपिबीले अन्तर्राष्ट्रिय रूपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आइएपिबीका सदस्य रहेका छन् । नेपाल नेत्रज्योति संघ विगत एक दशक भन्दा लामो समयदेखि आइएपिबीको सदस्य रहँदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाका रूपमा २०३५ साल चैत १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।
संघले नेपालका ७७ जिल्लामध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म संघको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरू गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल संघ अन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् ।