काठमाडौँ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय शिलदेवी मेलामा देउडा र भलिबल प्रतियोगितासँगै कृषि प्रदर्शनी हुने भएको छ ।
कार्तिक १ गते पूर्णिमाको दिन सुरु हुने मेलामा महिला(पुरुष अन्तरपालिका भलिबल र देउडा प्रतियोगिता तथा कृषि प्रदर्शनी आयोजना गरिएको उद्योग वाणिज्य संघ बझाङका उपाध्यक्ष शंकर रसाइलीले बताए ।
उद्योग वाणिज्य संघ बझाङले आज पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएको हो । कार्तिक ७ गतेसम्म चल्ने मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१ रहेको छ । द्वितीय पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१ र सान्त्वना पुरस्कार १२ हजार ८१ रुपैयाँ रहेको छ ।
यस्तै महिलातर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, द्वितीय पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५८१ रहेको छ ।
पुरुष भलिबलमा ३० टिम र महिलामा २० टिमसम्म सहभागी पुग्ने आयोजकले अनुमान गरेको छ ।
स्थानीय भेषभुषा र देउडाको संरक्षणका लागि शिलदेवी मेलामा अन्तरपालिका महिला(पुरुष देउडा प्रतियोगिता पनि आयोजना गरिएको उद्योग वाणिज्य संघ बझाङले जनाएको छ । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र मौलिकताको प्रचारप्रसारको लागि प्रतियोगिता गरिएको उद्योग वाणिज्य संघ बझाङका महासचिव नरेन्द्र खड्काले बताए ।
महासचिव खड्काका अनुसार प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय स्थान हासिल गर्नेलाई १० हजार पुरस्कार रहेको छ ।
शिलदेवी मेलामा स्थानीय उत्पादन (कृषि मेला) प्रदर्शनी आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजना र उद्योग वाणिज्य संघको समन्वयमा स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले मेलामा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा किसानहरूले आफ्नै उत्पादन एवं रैथाने वस्तुहरूको स्टल राखिने उद्योग वाणिज्य संघ बझाङका महासचिव खड्काले बताए ।
मेलामा १० हजार सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसमेत रहेको बताइएको छ ।







