काठमाडौँ । राप्रपा कर्णाली अभियानको दोस्रो दिनमा पश्चिम सुर्खेतको बाबियाचौरमा आम सभा सम्पन्न भएको छ ।
कार्यक्रममा राप्रपा नेताहरूले सरकारको कडा आलोचना गरेका छन् ।
काङ्ग्रेस एमाले र माओवादीलाई गाली गरेर मात्र हुँदैन अब सम्बन्ध विच्छेद्य गर्नुहोस् । अब कसलाई कति हेर्न बाकी छ ?
भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिमा युवाहरूलाई अगाडि बढ्न आग्रह गरेका छन् । जबसम्म युवाहरू राजनीति बाट भाग्छन् तबसम्म यो देश बन्ने दिशामा नजाने लिङ्देनले बताए ।
पार्टी उपाध्यक्ष रवीन्द्र मिश्रले जनताको गुणस्तरीय जीवन जिउने कुराको सुनिश्चित गर्न मत परिवर्तन गर्न आह्वान गरेका छन् । शिक्षा स्वास्थ्य जस्ता संवेदनशील कुरामा समेत राज्य विमुख हुने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् ।
महामन्त्री कुन्ती शाहीले देशको धर्म र सभ्यता मास्ने दललाई पाखा लगाउनुपर्ने बताएकी छिन् ।
प्रवक्ता ज्ञानेन्द्र शाहीले पश्चिम सुर्खेतका जनता बाटोका लागि आन्दोलनमा उत्रन अपिल गरेका छन्, वीरेन्द्रनगरमा रहेको सडक डिभिजन घेर्न र आफू सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शाहीले यहाँमा निर्वाचित जनप्रतिनिधिको निकम्मापनका कारण जनताले दुख पाएका कारण अब भोट बदल्न आग्रह गरेका छन्।
राप्रपा केन्द्रीय सदस्य रवि किरण हमालले देश गम्भीर संकटतर्फ उन्मुख भएको बेला राप्रपाले कर्णाली जागरण अभियान सञ्चालन गर्नुको महत्त्व अर्थपूर्ण रहेको दाबी गरेका छन् ।
उनले पश्चिम सुर्खेतको बाबियाचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै काठमाडौँको बन्द कोठाभित्र बसेर प्रधानमन्त्री चयन गर्ने परिपाटीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्नेमा सबै सहमत हुन आग्रह गरेका छन् ।
नेतृत्वको क्षमता र नियत, शासकीय स्वरूप र राप्रपा कमजोर भएका कारण देश बन्न नसकेको उनले बताएका छन् ।