काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक सुरक्षाको सवाल विश्वव्यापी चासोको रूपमा रहेको बताएका छन् ।
साउदी अरबको राजधानी रियादमा भएको सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्किएका मन्त्री दाहालले सडक संरचनाहरूको सुरक्षा र संरचनाहरूको सुरक्षित उपयोग विश्वव्यापी सरोकार बनेको बताएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालको सडक, सुरक्षा र भौगोलिक अवस्थाका बारेमा सम्मेलनमार्फत विश्व समुदायको ध्यानाकर्षण गराइएको पनि बताए ।
विश्वव्यापी चुनौती बनी रहेको जलवायु परिवर्तन, यसका असर र प्रभावका कारण समेत सडक सुरक्षामा चुनौती बढाई रहेको आफूले सम्बोधनका क्रममा उल्लेख गरेको मन्त्री दाहालले बताए ।
साउदी भ्रमणका क्रममा उनले त्यहाँका यातायातमन्त्री सालेह विन नासिरि अल साजेरसँग समेत भेटवार्ता गरे । त्यस भेटमा दुई देशबीच सडक एवम् पूर्वाधार निर्माणका विषयमा हुन सक्ने सहकार्यका बारेमा कुराकानी भएको जनाइएको छ । उनले साउदीको सडक प्राधिकरणले संयोजन गरेको सडक सुरक्षा सम्बन्धीको प्रविधि, परीक्षण, पूर्वाधार लगायतका बारेमा स्थलगत अवलोकनसमेत गरेका थिए ।







