इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी–२० तरहरा शान्ति टोल निवासी ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्याएको थियो।
अस्पतालमा उपचारका लागि पुर्याइएका खत्रीलाई चिकित्सकले सोही दिन बिहान ६ बजेर २३ मिनेटमा मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बस र बस चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।







