कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कर्णाली प्रदेश रंगशालामा आज भएको एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टोलीले निर्धारित समयमा २-२ गोलको बराबरी खेलेका थिए । उक्त खेलमा दुवै टोलीले अंक बाँडेका थिए । एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम भने लिग चरणबाटै बाहिरिएको छ ।
खेलको सातौँ मिनेटमा सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एपीएफका गणेश पुलामीले खेलको १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २६औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २-१ गोलको अग्रता लियो ।
पहिलो हाफमा एक गोलले पछाडि परेको सुदूरपश्चिमका लागि दोस्रो हाफको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ गोलको बराबरीमा पुर्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । अघिल्लो खेलमा मधेश प्रदेशसँग सुदूरपश्चिम पराजित भएको थियो । आजै दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ ।







