काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
आइतबार वनस्थलीस्थित घण्टी घरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबाबसहितको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशकयताका उच्च ओहदाका भ्रष्टाचारीहरूको न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने सरकारसँग माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए।
यसैगरी बैठकले जोखिममा परेका सहकारी संस्थाहरूबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अविलम्ब शुरु गर्न पनि माग गरेको छ। अधिकार सम्पन्न स्वायत्त सहकारी प्राधिकरणको स्थापना र पीडित पक्षसँग भएका सम्झौता कार्यान्वयन गरी पीडितलाई न्याय दिन बैठकले माग गरेको छ।
पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई मनोनयन दर्ता गराउने काममा पनि सत्तारुढ दलहरूले नदिएको आरोप लगाएका छन्।