काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।
पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत एमालेलाई पत्र पठाइएको मेयर बालेन साहको सचिवालयले जनाकारी दिएको छ ।
एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो ।
उक्त जरिवानाको पत्र पुर्याउन हिजो (आइतबार) महानगरको टोली आफैँ पार्टी कार्यालय पुगे पनि उक्त कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै पत्र बुझ्न अस्वीकार भएको थियो ।