काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरुविरुद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरू पेश गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनका साथ उल्लेखित विवरणहरूसँग सम्बन्धित कागजात र प्रमाणहरू पेश गर्न आदेश दिएको हो । आदेशको प्रति भने सार्वजनिक भइसकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गर्दै आएका थिए ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाब स्वरूप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।







