काठमाडौँ । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-२ घर भई काठमाडौँ नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौँ महानगरपालिका-१५ विजेश्वरी बस्ने ३९ वर्षीय बाबु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका-६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएका थिए ।
दुवै जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।