काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले दीक्षान्त समारोहमा अपूर्ण नाम प्रकाशनको कारण अध्ययन गर्न समिति गठन गरेको छ।
काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत आयोजित दीक्षान्त समारोहमा पाँच विद्यार्थीको नाम प्रेसलिस्टमा अपूर्ण रूपमा समावेश भएको विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको हो । यस विषयलाई गम्भीर रूपमा लिँदै परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार प्रा. डा. अच्युत वाग्लेले प्रारम्भिक अनुसन्धानका लागि निर्देशन दिएका थिए।
प्राप्त जानकारी अनुसार, उक्त अपूर्ण नामसम्बन्धी त्रुटि परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीको गल्तीबाट भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। कर्मचारीले सम्बन्धित विवरण २०८१ माघ १३ मा गल्तीले स्वीकार गरेपछि थप अनुसन्धानका लागि यो समिति गठन गरिएको हो।
समिति संयोजकका रूपमा प्रा. डा. हरिबिक्रम बास्कोटा (डिन, स्कुल अफ ल), सदस्यका रूपमा प्रा. डा. पन्ना थापा (पूर्व परीक्षा नियन्त्रक) र श्री वीरन्द्रबहादुर लाछे (पूर्व परीक्षा सहनिर्देशक) रहेका छन्।
समितिले २०७८ माघ १७ गते बस्ने कार्यकारी परिषद्को बैठकमा प्रतिवेदन पेश गर्नेछ।
