काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ ।
एमाले काँग्रेसका बीचमा गठबन्धन हुँदै हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेपछि संसदीय दलका नेता थापालाई गाडी सुविधा दिने निर्णय भएको थियो ।
कोशी प्रदेश सरकारको २०८१ असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय पछि पूर्व मुख्यमन्त्री समेत रहेका थापाले सवारी सुविधा उपभोग गर्दै आएका थिए ।
उनलाई एउटा हलुका सवारी साधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो। प्रदेश सरकारले काँग्रेस संसदीय दलका नेता थापालाई प्रदेश सरकाले दिएको सुविधा गैर कानूनी रहेको भन्दै अधिवक्ताद्वय कर्ण बहादुर राई र प्रेम कुमार घिमिरेले आइतबार उच्च अदालत विराटनगरमा अन्तरिम आदेशयुक्त परमादेशसहितको माग गर्दै रिट दायर गरेका थिए ।
उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले सोमबार उक्त निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुने वा नहुने भन्नका लागि दुवै पक्षलाई पुस २९ गते छलफलमा बोलाउने निर्णय गरेको छ ।







