सरकारी जागिरका लागि धैर्यता र लगनशीलता दुवै आवश्यक हुन्छ। युवा पलायनको समस्या झेलिरहेको हाम्रो जस्तो देशमा युवाले सरकारी क्षेत्रमा काम गर्ने हो भने व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
काठमाडौँ। नेपालमा “पढेर काम छैन” भन्ने धारणालाई चुनौती दिएकी गुल्मीको धुर्कोट गाउँपालिका-६ रातामाटाकी अनिता खवासले आफ्नो मेहनत र लगनशीलताको उदाहरण प्रस्तुत गरेकी छिन्। १९ वर्षकै उमेरमा लोक सेवा आयोगले लिएको नायब सुब्बा पदको परीक्षामा नाम निकाल्न सफल अनिता अहिले चर्चाको केन्द्रमा छिन्।
अनिताले बाग्मती प्रदेश लोक सेवा आयोगको पाँचौँ तहको परीक्षा पास गरेर सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा लेखापाल पदमा सिफारिस भएकी हुन्। उनले हालै रुपन्देहीको सैनामैनास्थित प्रभात इङ्लिस बोर्डिङ स्कुलबाट कक्षा १२ पास गरेकी हुन् भने अहिले बुटवलको अक्सफोर्ड कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्।
सानै उमेरमा सरकारी स्थायी जागिरको लागि सिफारिस भएपछि उनको परिवारमा खुसीको माहोल छ। धुर्कोट गाउँपालिका-६ का अध्यक्ष कृष्ण नेपालीका अनुसार अनिताले युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उनले गुल्मी जिल्लालाई लोक सेवामार्फत चिनाउने धेरै युवा देखा परेका कुरा उल्लेख गर्दै शिक्षामा थप पहल गर्नुपर्ने बताए।
अनिता कडा मिहिनेत गरेर लोक सेवा पास गर्न सफल भएकी हुन्। “जहाँ इच्छा छ, त्यहाँ मिहिनेत गर्यो भने सफल भइन्छ,” उनले भनिन्। परीक्षाको तयारीमा परिवारको उल्लेखनीय सहयोग रहेको बताउँदै उनले आफ्ना अंकल प्रेम भद्र खवासबाट पाएको प्रेरणालाई विशेष रूपमा सम्झिन्। निजामती सेवामा जीवन बिताउने सपना बोकेकी अनिता मुख्यसचिव बन्ने चाहना राख्छिन्।
‘मुख्यसचिवसम्म पुग्ने लक्ष्य’
अनिताले लोक सेवा तयारी गर्दा आफ्नो जिज्ञासा र अध्ययनलाई व्यवस्थित तरिकाले अगाडि बढाएकी थिइन्। उनले भनिन्, “मैले पाएको स्रोतहरूबाट धेरै जान्ने कोसिस गरेँ। सामान्य ज्ञानका प्रश्नहरू कठिन लागे पनि मेहनतले सफलता सम्भव हुन्छ। जागिरमा प्रवेश गरेपछि अझ माथि पुग्ने बानी बन्ने रहेछ। मेरो लक्ष्य मुख्यसचिव बन्नु हो।”
‘युवाले व्यवस्था सुधार्न सक्छन्’
“युवा पलायनको समस्या झेलिरहेको हाम्रो देशमा हामीजस्ता युवाले सरकारी काममा लागे व्यवस्था सुधार्न सकिन्छ,” उनले भनिन्। उनले वर्तमान व्यवस्थालाई नराम्रो भन्न नचाहेको उल्लेख गर्दै यसलाई अझ राम्रो बनाउन सकिने धारणा राखिन्। “सरकारी जागिरका लागि धैर्यता र लगनशीलता चाहिन्छ,” उनको भनाइ छ।
लोक सेवा तयारी गरिरहेका विद्यार्थीका लागि अनिताका टिप्स
१. लोकसेवा तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यता कायम राख्नुपर्छ।
२. पढाइको लागि स्पष्ट ढाँचा निर्माण गरी अध्ययन गर्नुपर्छ।
३. आफ्ना कमजोरीहरू पत्ता लगाई ती क्षेत्रमा थप मिहिनेत गर्नुपर्छ।
४. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ।
५. सामान्य ज्ञान (जीके) घोक्नुपर्ने विषय भएकाले यसमा विशेष ध्यान दिनुपर्छ।
६. अध्ययन गर्दा स्पष्ट धारणा बनाउँदै दिमागमा विषयको चित्र उतार्ने प्रयास गर्नुपर्छ।
७. पत्रपत्रिका र समसामयिक विचारहरूको नियमित अध्ययनले ज्ञान अद्यावधिक राख्न मद्दत गर्दछ।
८. “आइक्यु”मा ध्यान दिएर ट्रिक लगाउन सकिन्छ।
“मैले किताब मात्र सीमित नभई इन्टरनेटको पनि भरपुर उपयोग गरेँ,” उनले बताइन्। लोक सेवा तयारी गरिरहेका विद्यार्थीहरूका लागि यो मार्गदर्शन उपयोगी बन्न सक्छ।