काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले परराष्ट्र संयन्त्रकै पुनर्संरचना आवश्यक देखिएको बताएका छन् ।
रोजगारी र शिक्षाको लागि नेपाली विश्वभर छरिएका ५०औँ लाख नेपालीका चुनौती बढ्दै गएको भन्दै वाग्लेले परराष्ट्रको यही संयन्त्रले चुनौती सामना गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै डा। वाग्लेले बोलकबोल र गोजी-गोजीबाट बनाइएका राजदूतहरूका कारण यस्ता चुनौती अझै बढेको बताए ।
‘५०, ६० वा ७० लाख नेपालीहरू विद्यार्थी वा श्रमिकका रूपमा विदेशमा छन् । यस्ता चुनौतीहरू पेचिलो बन्दै जानेछन् । त्यसैले हामीले बोलकबोल र गोजीगोजीबाट बनाइएका राजदूतहरू सामर्थ्य होलान्, यो नयाँ चुनौती थेग्नका लागि ?’ उनले सरकारलाई प्रश्न गर्दै उनले भने, ‘पोहोर हमास र इजरायलबीच द्वन्द्व हुँदा डिजास्टर नै भयो । त्यतिबेला कब्जामा लिइएका विपिन जोशी अहिलेसम्म रिहा भएका छैनन् । परराष्ट्र संयन्त्रकै पनि पुनर्संरचना, पुनः अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलको दक्षिणी भागमा आक्रमण गरी करिब साढे दुई सय बन्दी बनाउँदा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि लगेको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।
उनले प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि उत्पन्न घटनाको गम्भीर छानबिनको लागि सरकारले भारत सरकारलाई कूटनीतिक च्यानलबाट पहल गर्नुपर्ने उनको सुझाव छ ।
‘घटनाको निष्पक्ष छानबिनको लागि भारत सरकारलाई कूटनीतिक च्यानलबाट पहल आवश्यक छ । यस्तै, त्यहाँ अध्ययनरत विद्यार्थीहरूको भौतिक र शैक्षिक सुरक्षाको प्रत्याभूति खोज्नुपर्नेछ,’ उनले भने, ‘न्याय र क्षतिपूर्तिका विषय पनि छ । त्यसैले निरन्तर कूटनीतिक पहल आवश्यक छ ।’