काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एक पटक क्रान्तिकारीहरूको काँधमा आएको बताएका छन् ।
पार्टीको सहायक संगठन वाईसीएल नेपालको बैठक उद्घाटन गर्दै उनले अझ बढी संगठित र सशक्त भएर प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्नुपर्ने धारणा राखेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै ‘प्रचण्ड’ले जनताले अस्वीकार गरेका र वैधानिक रूपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने उल्लेख गरे । त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित हुन युवाहरूलाई आह्वान गरेका हुन् ।
अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यसलाई क्रान्तिकारीहरूले क्रान्ति पूरा गर्ने अवसरको रूपमा लिनुपर्ने बताए ।
आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरेको स्मरण गराउँदै उनले अहिले त्यही संघर्षको विन्दु सुरु भएको बताए ।
गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए ।
वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गर्ने, संविधानलाई अझै परिमार्जन गर्ने र जनताका अधिकारलाई पूर्णता दिने आजको प्रमुख आवश्यकता भएको बताए ।
प्रतिक्रियावादी शक्तिहरूसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहर गरिएको छ ।