काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कर्मचारीहरूसँग आक्रोशित बनेका छन् ।
कर्मचारीले काम नगरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै उनी आक्रोशित बनेका हुन् ।
आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबीच टकराब भइरहेको छ । कर्मचारी र जनप्रतिनिधिले गुरागाईँलाई स्वागत गरेर कार्यालयभित्र प्रवेश गराउँदा नगर प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।
कर्मचारीले प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा लागेको ताल्चा फुटाउने प्रयास गर्दा फेरि नगर प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा ढोकाको सिसा फुटेपछि नगर प्रहरी प्रमुख पाण्डे आक्रोशित बनेका थिए । उनले कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिएका छन् ।
पाण्डेले भने, ‘कर्मचारीहरू काम नगरेर यसरी कार्यालयभित्र तोडफोड गरिरहेका छन् । कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो । हामी आफ्नो कर्तव्य निभाउँछौँ ।’
प्रशासकीय अधिकृतलाई कार्यकक्ष प्रवेश गर्न नदिने आफूहरूलाई स्पष्ट आदेश रहेको बताए । ‘हामीलाई स्पष्ट आदेश छ, त्यसको अक्षरशः पालना गर्छौँ,’ उनले भने ।