काठमाडौँ। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सञ्चालित जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले राजीनामा दिएका छन् ।
चौधरी लुम्बिनी प्रदेश जग्गा एकीकरण नियमावली, २०७९ को नियम १७ बमोजिम प्राधिकरणको निर्णय अनुसार १ असोज २०७९ मा नियुक्त भएका थिए ।
चार वर्षका लागि नियुक्त भएका चौधरीले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । सरकारले काम गर्ने वातावरण खोसेर निरन्तर अपमान गरेकाले राजीनामा दिएको चौधरीको भनाइ छ ।
प्रदेश सरकारले ८ महिनाअघि नै चौधरीलाई हटाएर सुनिलकुमार बस्नेतलाई अध्यक्षमा नियुक्त गरेपछि चौधरी अदालत गएका थिए । अदालतले उनको पक्षमा फैसला गरेको थियो ।