काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को बजेट अधिवेशन वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ। यो अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्न सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको छ।
बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधनका लागि निरन्तर संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारले महासंघको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, विद्यार्थी भर्ना, एसइई उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षाको समयलाई ध्यानमा राखी विरोधका कार्यक्रम स्थगन गर्न र शिक्षकहरूलाई आ-आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरेको छ।
सरकारले शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न तयार रहेको स्पष्ट पार्दै अभिभावक र विद्यार्थीको हितमा सहकार्य गर्न सबै पक्षलाई आह्वान गरेको छ।