काठमाडौँ । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । उनी दुई दिनको भ्रमणका लागि ९ वैशाखमा नेपाल आउनेछन् ।
३० माघ २०८१ मा भारत भ्रमण क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत् मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
ऊर्जा मन्त्री खड्कासँगै भारतका विद्युत् मन्त्री खट्टरले ९ वैशाखमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सबस्टेसन, २२०-३३ केभी बानेश्वर सबस्टेसन र २२०-१३३-३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
खट्टरले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।
त्यस्तै १० वैशाखमा भारतका विद्युत् मन्त्री खट्टरले मुस्ताङ मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन् ।