काठमाडौँ। सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
बजेट अधिवेशन सुरु हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिले त्यसअनुसारको क्यालेन्डर बनाउनेछ ।
घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चापको अवगत गराएका थिए । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको उनले बताए ।
‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौँ । समितिको प्रतिवेदन आए लगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ’, घिमिरेले भने ।
निजामतीलगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्नेमा पनि उनको जोड छ ।