काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिको नियम बिगारेमा आफैँ जोखिममा पर्ने बताए ।
गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे ।
सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताए । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए । भूकम्पको पूर्वानुमान गर्न नसकिने भन्दै मन्त्री लेखकले जुनसुकै बेला भूकम्प आउन सक्छ भन्ने मानसिकता बनाएर बस्न र क्षतिबाट जोगिने तयारी गर्न जरुरी रहेको बताए ।
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षतिको जोखिम धेरै हुने भन्दै उनले प्रकृतिमैत्री गतिविधि हुनुपर्नेमा जोड दिए ।
गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले सतर्क भएर रहनुपर्ने बताए । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्न सके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरे ।