काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलने क्रममा सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा ज्ञापन पत्र बुझाएका छन् ।
सुवेदीको नेतृत्वमा गएको एउटा प्रतिनिधिमण्डलले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा आज सो ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सुबेदीले आफूलाई सरकारले बिना पक्राउ पुर्जी झण्डै एक महिना घरमा नजरबन्द गरेको उल्लेख गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगमा समेत बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘मार्च २८ को बेलुकादेखि अप्रिल २१ सम्म सुरक्षाकर्मीले मलाई २४ घण्टा निगरानीमा राखे र बाहिर आवतजावत गर्न दिएनन् । मलाई कुनै पक्राउ पुर्जी पनि दिइएको थिएन, जसको पुष्टि राष्ट्रिय मानवअधिकार आयोगले पनि नगरिसकेको छ । नेपाली सेनाले माइन प्रोटेक्सन भेइकल र आम्र्ड प्रोटेक्सन करिअरसमेत मेरो घर अगाडि प्रदर्शन गर्यो । यो अन्तर्राष्ट्रिय मानवअधिकार कानून र हाम्रो देशको संविधान विपरीत छ ।’
उनले तीनकुनेमा भएको आन्दोलनमा राज्यबाट अहिलेसम्मकै अत्यधिक बल प्रयोग गरेको सुवेदीले दाबी गरेका छन् ।‘नेपालमा धेरै राजनीतिक क्रान्ति र आन्दोलनहरू भइसकेका छन् । तर, तीनकुनेमा जति शक्ति प्रयोग विगतमा कहिल्यै भएको थिएन । कुनै पनि सरकारले यति धेरै मानवअधिकारको उल्लंघन गरेका थिएनन्,’ ज्ञापन पत्रमा भनिएको छ ।
संविधानले दिएको अधिकार प्रयोग गर्दा एकै पटक धेरैलाई थुनामा राखिएको र मानवअधिकारको उल्लंघन गरिएको आरोप ज्ञापन पत्रमा लगाइएको छ । गैरन्यायीक रूपले थुनामा राखिएकाहरूलाई निशर्तरुपमा अविलम्ब रिहा गर्न माग पनि गरिएको छ ।