काठमाडौँ। सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो ।
तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले भने, ‘हामी औपचारिक छलफल र संवादमा छौँ । निष्कर्षमा पुगेका छैनौँ । हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’ उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए ।
कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेड वृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ ।
आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।
शिक्षकहरूले सरकारसमक्ष आफूहरूले जायज माग राखेकाले सबै माग पूरा हुनुपर्ने अडान राखेका छन्। गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौँमा आन्दोलनमा रहेका छन्।