तेहरान । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्त्वपूर्ण बन्दरगाह शाहिद राजाीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको सङ्ख्या ५ सय १६ पुगेको छ ।
सरकारी टेलिभिजनले आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार “५१६ जना घाइते भएका छन् र सयौँलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।”
यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको आपत्कालीन स्वास्थ्य सेवा संगठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४ सय ६ जना घाइते भएको जानकारी दिएको थियो । प्रवक्ताका अनुसार, घटनास्थलमा १५ वटा एम्बुलेन्स र चार वटा एम्बुलेन्स बसहरू तुरुन्तै परिचालन गरिएको थियो ।
विस्फोट ग्यास ट्यांकीमा भएको बताइएको छ, जसले गर्दा आकाशमा बाक्लो धुवाँ देखिएको र वरपरका भवन तथा सवारीसाधनहरूमा ठूलो क्षति पुगेको छ ।
सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । उद्धार तथा राहत टोलीहरू घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन् भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू हालका लागि स्थगित गरिएको छ ।
अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार मृत्युको आधिकारिक पुष्टि भइसकेको छैन, तर घाइतेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।