काठमाडौँ न । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारको बजेट तथा कार्यक्रमले जेनजी (जेनेरेसन १९९)–२०१०० लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले प्रविधिसँग हुर्किएका ‘जेनजी’सँगै पछिल्ला पुस्ताका आकांक्षामाथि बहस गर्दै विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
डिजिटल पूर्वाधार विकाससँगै स्मार्ट पूर्वाधारमा बहस गर्नुपर्ने राय पुनले व्यक्त गरे। “एआईररोबोटसँग हुर्किएका जेनजी र त्यसपछिका पुस्ताहरू ज्ञानको अवसरसँगै समाज र यथार्थबाट बेखबर बनिरहेको अवस्था छ । यो हाम्रा लागि चुनौती हो”, उनले भने, “जेनजीको आकांक्षामाथि छलफल गर्नुपर्छ । त्यसलाई आजको हाम्रो विकास र कार्यक्रमले कसरी सम्बोधन गर्छ, भन्नेतर्फ बहस चलाउनुपर्छ ।”
पूर्वअर्थमन्त्री पुनले उत्पादनमा प्रविधिको प्रयोगले पुनरुत्पादनको न्यायोचित वितरणबारे बहस गर्नुपर्ने उल्लेख गरे । “निजीकरण सबै बजारलाई छाड्दा विकृतिहरू आयो । निजी क्षेत्रलाई कानूनी शासन हुनुपर्यो । बजार प्रतिस्पर्धी हुनुपर्यो । त्यो सिद्धान्तमा आधारित भएर हाम्रो बजेट र कार्यक्रम आउनुपर्छ”, उनले भने ।
उनले राजस्वका नीतिमा सुधारको आवश्यकता औँल्याए । “राजस्वमा त्यस्ता नीतिहरू बनुन् जसले पार्टी, नेता र प्रशासक वा मन्त्री नचिने पनि उसले व्यवसाय गर्न सकोस्, प्रतिस्पर्धा गर्न सकोस्, त्यस्तो नीतिमा काम गर्न सक्नुपर्छ ।”
पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधारका लागि अर्थतन्त्रको संरचना, व्यावसायिक वातावरण, सार्वजनिक वित्त प्रणाली र वित्तीय क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी बनाउन सुझाव दिए ।
सोही छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापाले बेरुजुको भयावह अवस्थाबारे सबै जिम्मेवार पदाधिकारी र निकायको ध्यानाकर्षण गराए । “तीनै तहको सरकारअन्तर्गत बेरुजुको तस्बिर भयावह छ, यस्तो सुशासनका हिसाबले चिन्ताको विषय हो । बेरुजुलाई रुजु, फर्छ्यौट र असुल उपर गर्नुपर्छ । त्यसो नगरी यथास्थितिमा अघि बढ्न खोज्नु कुशासन हुन्छ”, उनले भने ।
उनले लेखा समितिको भूमिकालाई कार्यक्षेत्र र प्राप्त जिम्मेवारी केन्द्रित गरेर ठोस परिणाम हासिल गर्न अघि बढाउनु अत्यावश्यक भएको बताए । उनले बजेटको न्यायोचित वितरणबारे समेत ध्यानाकर्षण गराए । उनले देशभरका रुग्ण आयोजना, सडक, पुल र राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न बजेट केन्द्रित गर्न माग गरे ।
“बजेटलाई न्यायोचित वितरण गर्छौँ कि विगतमा जस्तै केही जिल्लाहरूलाई मात्र प्राथमिकता दिन्छौँ, यी प्रश्नहरू गर्नै पर्ने बेला भएको छ”, सांसद क्षेत्रीले भने ।







