काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण-२०२५ को आज जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण समारोहमा उनले सो आरोहणले दुई राष्ट्रका सेनाबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए ।
विगतमा नेपाली सेना र भारतीय सेनाद्वारा सन् २००३ र सन् २०१३ मा सगरमाथाको संयुक्त आरोहण सम्पन्न भएको थियो । कञ्चनजंघा आरोहण भने संयुक्त सेनाको पहिलो पटक हो । नेपाली सेना र भारतीय सेनाले कञ्चनजंघा शिखर आरोहणमा विस्तृत योजनासहित अटुट अनुशासन, अदम्य साहस, संकल्प र उच्चस्तरको समन्वयमार्फत कठिन चुनौती पार गर्दै सहकार्य र मित्रताको अद्वितीय उदाहरण प्रस्तुत गरेको बताए ।
उनले आरोहण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आरोहण दलका सदस्यलाई बधाई ज्ञापन गरे। कार्यक्रममा आरोहण दलका टिम लिडरबाट रक्षामन्त्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापासमक्ष आरोहणको झन्डा हस्तान्तरण गरिएको थियो ।
युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले संयुक्त आरोहणबारे संक्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा भारतीयसेनाका प्रतिनिधिमण्डलका प्रमुख लेफ्टीनेन्ट जनरल अजय रामदेवले समेत आरोहण दललाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
नेपाली सेनाका १० र भारतीय सेनाका पाँच गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीले यही जेठ ५ र ६ गते कञ्चनजंघा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो । उक्त अभियानको विसं २०८१ चैत्र २१ गते भारतको नयाँ दिल्लीमा भारतीय रक्षा मन्त्रीको उपस्थितिमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, संयुक्त कञ्चनजंघा हिमाल आरोहणका सदस्य, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।







