काठमाडौँ । प्रहरीले भ्रष्टाचारको आरोपमा पाँच विपक्षी दलका नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । टर्कीएको प्रहरीले बुधबार विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा भ्रष्टाचारको आरोपको अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
इस्तानबुलका एक पूर्व सांसद र तीन जना सीएचपी मेयर तथा दक्षिणी प्रान्त अदानामा थप दुई जनालाई लक्षित गरी पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताए ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी इस्तानबुलका मेयर एकरेम इमामोग्लुसहित जेलमा रहेका सीएचपीका मेयरको संख्या नौ पुगेको छ ।
इस्तानबुलमा केन्द्रित चार वटा छुट्टाछुट्टै भ्रष्टाचार अनुसन्धानको सिलसिलामा अदालतले ४७ जना नगरपालिका अधिकारीलाई पक्राउ आदेश जारी गरेपछि पछिल्लो अनुसन्धान सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इमामोग्लुलाई मार्च १९ मा पक्राउ गरी जेलमा थुनेपछि टर्कीएमा एक दशकयताकै सबैभन्दा ठूलो सडक प्रदर्शन भएको थियो । इमामोग्लुका निजी सचिव र उनका निजी सुरक्षा अधिकारीसहित इस्तानबुल सिटी हलमा भएको भ्रष्टाचारसँग सम्बन्धित करिब ७० जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।







