काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणाममुखी सहयोग, समन्वय र सहकार्य आवश्यकता रहेको बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विश्वभरका पर्यटकले जीवनमा एक पटक हेर्न र पुग्न पाए हुन्थ्यो भन्ने स्थान र सम्पदालाई राससले तस्बिरमार्फत चिनाउने प्रयास गरेको बताएका हुन् ।
कार्यवाहक अध्यक्ष अर्यालले भने, “नेपालका यस्ता अमूल्य निधिलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने जिम्मा पर्यटन बोर्डको भएकाले उसले अलि बढी चासो दिएर प्रचारप्रसार गर्नुपर्छ ।
उनले थपे, “आँखाले त हिमाल सुन्दर देखिने भइहाल्यो, हाम्रा प्राकृतिक सम्पदालाई संसारलाई देखाउन पर्यटन व्यवसायका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका बीच समन्वय र सहकार्य आवश्यक छ ।”
देशका नीति निर्माण तहमा रहेकालाई प्रदर्शनीको अवलोकन गराएर पर्यटन प्रवर्द्धन अभियानलाई सार्थक तुल्याउन राससलाई सुझाव दिए ।







