काठमाडौँ । बुटवलको मुख्य बजारमा रहेका नाम चलेका मेडिकल पसल पनि दर्ताबिनै सञ्चालन भएको भेटिएको छ ।
मानिसको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा चरम लापरबाही हुने गरेको जनगुनासो बढेपछि जिल्ला अनुगमन समितिले मेडिकल क्लिनिक र ल्याबहरूमा अनुगमन थालेको थियो ।
जिल्ला प्रशासन कार्यालयसहितको टोलीले गरेको अनुगमनबाट बुटवलमा दर्ताबिना सञ्चालनमा रहेका ८ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरिएका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवल क्षेत्रका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा ८ वटा क्लिनिक दर्ताबिना नै सञ्चालनमा रहेको भेटिएपछि बन्द गराएको रुपन्देही प्रशासनले जनाएको छ ।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ रुपन्देही, उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलीले अनुगमन गरेको थियो ।
मेडिकल क्लिनिक, ल्याब, र फार्मेसी गरी ११ वटा पसलको अनुगमन गरेकोमा ८ वटाले दर्ता नगरी वर्षौँदेखि सञ्चालन गरेको पाइएको हो ।







