काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।
अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
सभामुख घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रतिपक्षी दलहरू आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए । तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सञ्चालनको माग गरेका थिए ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् । बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।







