काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन पत्राचार गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा हाजिर हुन भनेको हो ।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलब भत्ता लगायतका सेवा सुविधा बापतको रकम असुल गरी विभागीय कारबाही समेत हुने पत्रमा छ ।
स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।
‘‘काजमा कार्यरत र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन साथै उक्त बमोजिम कार्य नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलब भत्ता लगायतका सेवा सुविधा बापतको रकम असुल गरी नियमानुसार विभागीय कारबाही समेत हुने ब्यहोरा नेपाल सरकार (सचिव स्तर) को मिति २०८२/२/२८ को निर्णयानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।







