काठमाडौँ । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ ।
काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो ।आज ९औँ दिन पनि थुनछेक बहस चलिरहेको हो ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।







