काठमाडौँ । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले जापानिज भाषा स्कूल संघ (जाल्सान), नेपालसँगको सहकार्यमा शैक्षिक परामर्श व्यवसायीहरूलाई लक्षित करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम बुधवार अल्फा हाउस, बानेश्वरमा सम्पन्न गरेको छ।
कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले करसम्बन्धी विषयमा प्रस्तुति दिएका थिए भने सिए नवराज गौतमले कर र लेखा व्यवस्थापनबारे प्रशिक्षण प्रदान गरेका थिए ।
सहभागीका जिज्ञासालाई प्रमुख कर अधिकृत गोविन्दराज आचार्य र कर अधिकृत वेद प्रसाद खनालले सम्बोधन गरे। जाल्सानका अध्यक्ष रमेश देवकोटाले कार्यक्रम व्यवसायीका लागि उपयोगी भएको बताउँदै भविष्यमा पनि सहकार्यको अपेक्षा गरे।
आर्थिक विधेयक, २०८२ का प्रावधान, छुट सुविधा र करसम्बन्धी सन्देशमूलक भिडियो प्रस्तुत गरिएको थियो। प्रमुख कर अधिकृत आचार्यले परामर्श व्यवसायीले पालना गर्नुपर्ने कानुनी प्रावधान र व्यवसायमैत्री नीतिमार्फत स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धनमा निजी क्षेत्रको सहयोगको अपेक्षा रहेको बताए।
कार्यक्रमको सञ्चालन जाल्सानका महासचिव अरुण पाण्डेले गरे भने प्रथम उपाध्यक्ष महेश श्रेष्ठले संयोजन गरेका थिए।








