काठमाडौँ । इजरायल र इरानबीच हालै विकसित द्वन्द्वका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इजरायल, इरान तथा प्रभावित छिमेकी मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, संरक्षण र आवश्यकतानुसार उद्धारका लागि व्यापक तयारी थालेको छ। मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले नेपाली नागरिकको सुरक्षाका लागि विभिन्न निर्णयहरू गरेको छ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको उच्चस्तरीय बैठकले नेपाली नागरिकको सुरक्षाका लागि औपचारिक र अनौपचारिक संयन्त्रहरूको उपयोग गरी जोखिम न्यूनीकरण र उद्धारको तयारीलाई प्राथमिकता दिएको छ।
बैठकमा इजरायल, इरान र प्रभावित छिमेकी मुलुकहरूमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि विभिन्न निकायहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूमाथि व्यापक छलफल भएको छ। जसमा परराष्ट्र मन्त्रालयलाई सम्बन्धित दूतावासहरूसँग समन्वय गरी वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अवलम्बन गर्न सिफारिस गरिएको छ। यसमा जोखिम न्यूनीकरणका लागि सम्भावित सुरक्षात्मक उपायहरूको तयारी समावेश छ।
नेपाली कूटनीतिक नियोगहरूमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको विवरण अद्यावधिक गरिनेछ। साथै, वैदेशिक रोजगारीमा रहेका नागरिकहरूको सुरक्षालाई ध्यानमा राखी उपयुक्त परामर्श र ट्राभल एड्भाइजरी जारी गरिनेछ।
आवश्यकतानुसार राहत, उद्धार र नेपाल फिर्तीको तयारीका लागि छिमेकी मुलुकहरूसँग समन्वय गरी तेस्रो मुलुकको ट्रान्जिट प्रयोग गर्ने व्यवस्था पनि गरिनेछ। यसका लागि भिसा र अन्य कूटनीतिक विषयमा समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। बैठकमा सहभागी एक अधिकारीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।
परराष्ट्र मन्त्रालयको सहसचिवको संयोजकत्वमा रहेको श्रम आप्रवासन तथा वैदेशिक रोजगार समस्या समाधान कार्यदललाई आपतकालीन प्रतिकार्य टोलीको रूपमा परिचालन गर्न सिफारिस गरिएको छ। यो टोलीले उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सुरक्षा निकायसँग समन्वय गरी सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि कूटनीतिक पहल गर्न निर्देशन दिइएको छ। साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी हवाई टिकट सार्नुपर्ने अवस्थामा लाग्ने अतिरिक्त शुल्क छुटको व्यवस्था गर्न पहल गरिनेछ।
प्रभावित मुलुकमा रहेका नेपाली नागरिकका लागि भर्चुअल र टेलिमेडिसिनमार्फत मानसिक स्वास्थ्य परामर्श सेवा तत्काल विस्तार गरिनेछ। साथै, तत्काल उद्धार आवश्यक भएमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र सामाजिक सुरक्षा कोषले आवश्यक तयारी गर्नेछन्।
यसैगरी, वैदेशिक रोजगार व्यवसायी संघले सम्बन्धित मुलुकका रोजगारदातासँग समन्वय गरी नेपाली श्रमिकको सुरक्षा र नेपाल फिर्तीको व्यवस्थापनमा सहयोग गर्न तत्काल तयारी गर्नेछ।
त्यसैगरी, निजी क्षेत्र र गैरसरकारी संस्थाको सहयोगबारे पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रलगायतका संस्थाहरूलाई आफ्ना माध्यमहरूको उपयोग गरी नेपाली नागरिकको सुरक्षा र उद्धारमा समन्वय र सहकार्य गर्न निर्देशन दिइएको छ।
श्रम आप्रवासन, राहत र उद्धारमा सक्रिय अन्तर्राष्ट्रिय संघसंस्था र साझेदारहरूसँग नेपाल सरकारका सरोकारवाला निकायहरूले नेपाली कामदारको सुरक्षा, उद्धार र फिर्तीका लागि आवश्यक समन्वय गर्नेछन्।
इजरायल र इरानबीचको घटनाक्रम र सम्बन्धित मुलुक तथा नेपाल सरकारले जारी गरेको ट्राभल एड्भाइजरीको पूर्ण पालना गर्न नेपाली नागरिकलाई अनुरोध गरिएको छ। साथै, आधिकारिक सूचना र सतर्कताका लागि आवश्यक जानकारी प्रवाह गरिनेछ।
नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको छ। यो बैठकले नेपाली नागरिकको सुरक्षाका लागि कूटनीतिक, प्रशासनिक र सामाजिक संयन्त्रहरूको एकीकृत उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रभावित मुलुकमा रहेका नेपालीहरूको अवस्था नजिकबाट अनुगमन गर्न र आवश्यकतानुसार तत्काल कारबाही गर्न सरकार तयार रहेको जनाइएको छ।
सरकारले परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोगहरू र अन्य सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरी नेपाली नागरिकको सुरक्षालाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने योजना बनाइएको छ। मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले प्रशासनलाई यो जानकारी दिए।
नेपाल सरकारले सम्पूर्ण नेपाली नागरिकलाई आधिकारिक सूचना र निर्देशनको पालना गर्न र कुनै आपतकालीन अवस्थामा सम्बन्धित दूतावास वा सरकारी निकायसँग सम्पर्क गर्न सचिव डा. पुष्करले आग्रह गरेका छन्।







