बुढानीलकण्ठ नगरपालिका : सुशासनको सङ्कल्प, पारदर्शिताको पहल, प्रविधिमैत्री सेवा र जनसहभागिताले समृद्ध, स्वच्छ र हरियाली पर्यटकीय नगर निर्माणको दृढ यात्रा।
सुशासन, प्रशासन र सेवा प्रवाह: जनमुखी शासनको आधार
“सुखी नेपाली, समृद्ध नेपाल” र “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानिलकण्ठ” को परिकल्पनालाई साकार पार्न बुढानीलकण्ठ नगरपालिकाले सुशासन, प्रशासन र सेवा प्रवाहलाई आफ्नो कार्यको केन्द्रविन्दु बनाएको छ। सुशासनले पारदर्शिता, जवाफदेहीता, जनसहभागिता र समावेशितालाई सुनिश्चित गर्छ, जसले स्थानीय सरकारप्रतिको विश्वास र अपनत्वलाई बलियो बनाउँछ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्य प्रचलित कानूनहरूको मार्गदर्शनमा नगरपालिकाले नीति, नियम, कार्यविधि र मापदण्डहरू निर्माण गरी कानूनमा आधारित शासन व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ।
नगरपालिकाले आफ्नो संगठनात्मक संरचना, स्रोत परिचालन, योजना तर्जुमा, अनुगमन र सुपरिवेक्षण प्रणालीमार्फत सुशासनलाई प्रवर्द्धन गरेको छ। जनताको सहज पहुँच र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ। यसका लागि १० महाशाखा, २९ शाखा, १३ वडा कार्यालय र १३ स्वास्थ्य संस्थाहरू सञ्चालित छन्। यी संरचनाहरूले नगरवासीको दैनिक आवश्यकता पूरा गर्न र स्थानीय सरकारको उपस्थितिलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार, अन्य सरकारी कार्यालयहरूसँगको समन्वय र सहकार्यले सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै पालिका अघि बढिरहेको छ।
पारदर्शिता र जवाफदेहीताको प्रतिबद्धता
नगरपालिकाले पारदर्शिता र जवाफदेहीतालाई सुशासनको आधार बनाएको छ। सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को आधारमा स्थापित खरिद शाखालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको छ। शाखाले खरिद कार्यलाई पारदर्शी, प्रभावकारी र निष्पक्ष बनाएको छ।
नियमित सार्वजनिक सुनुवाइ कार्यक्रमहरूले नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्न सहयोग गरेका छन्। यस्ता कार्यक्रमहरू वडास्तरमा विस्तार गर्ने कार्य पनि सुरु भएको छ, जसले स्थानीय स्तरमा सुशासन र जवाफदेहीताको संस्कृतिलाई प्रवर्द्धन गरिरहेको नगरपालिकाले जनाएको छ।
हेल्लो बुढानिलकण्ठ कक्षलाई अनलाइन गुनासो सङ्कलन र समाधानको प्रभावकारी माध्यम बनाइएको छ। चालु आर्थिक वर्षमा यो पोर्टलमार्फत ५०३३ गुनासा फछ्यौट भएका छन् भने १३ गुनासा अनुसन्धानको चरणमा छन्। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको हेलो सरकारमा दर्ता ८३ गुनासामध्ये ३६ फछ्यौट भएका छन्। यी प्रयासहरूले नगरपालिकाको गुनासो व्यवस्थापन प्रणालीलाई चुस्त र नागरिकमैत्री बनाएको पालिकाले जनाएको छ।
प्रविधिमा आधारित सेवा प्रवाह
नगरपालिकाले विद्युतीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै ३२ भन्दा बढी विद्युतीय पोर्टल र प्रणाली सञ्चालनमा ल्याएको छ। यी प्रणालीहरूले सेवाग्राहीको समय र लागत बचत गर्नुका साथै सेवा प्रवाहलाई पारदर्शी र छिटोछरितो बनाएका छन्। उदाहरणका लागि, अनलाइन दर्ता, कर भुक्तानी, गुनासो व्यवस्थापन र सूचना प्रवाहजस्ता सेवाहरूले नगरवासीको जीवनलाई सहज बनाएका छन्। यस्ता प्रणालीहरूको प्रयोगले नगरपालिकालाई प्रविधिमैत्री र आधुनिक स्थानीय तहको रूपमा स्थापित गरेको छ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ बमोजिम माग भएका सूचनाहरूलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यो प्रक्रियाले नागरिकको सूचनाप्रतिको अधिकारलाई सुनिश्चित गरेको छ र नगरपालिकाको पारदर्शिताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।
कर्मचारी व्यवस्थापन र क्षमता विकास
प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारी संयन्त्रको भूमिका महत्वपूर्ण हुन्छ। बागमती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चालु आर्थिक वर्षमा १८ कर्मचारीको सरुवा मिलान, ९ जनाको अन्य स्थानीय तहमा सरुवा र १२ जनाको यस नगरपालिकामा सरुवा भएको छ। यस्तै, १२ कर्मचारीको तहवृद्धि गरिएको छ। कर्मचारीको मनोबल र कार्यक्षमता वृद्धिका लागि मापदण्ड बनाई सरुवा र कार्यविभाजन गरिएको छ।
नयाँ नगर अस्पताल सञ्चालनका लागि प्रतिस्पर्धात्मक लिखित परीक्षा र अन्तर्वार्तामार्फत १२ कर्मचारी नियुक्त गरिएको छ। बुढानिलकण्ठ स्वास्थ्य चौकी (बर्थिङ सेन्टर), क्षयरोगमुक्त अभियान र अन्य स्वास्थ्य कार्यक्रमका लागि थप कर्मचारी भर्ना गरिएको छ। नगर प्रहरी जवानको रिक्त दरबन्दी पूर्तिका लागि शारीरिक, स्वास्थ्य, लिखित र अन्तर्वार्ता परीक्षामार्फत ५ जना नियुक्त गरिएको छ। हाल नगरपालिकामा १३१ पुरुष र १४६ महिला गरी कुल २७७ कर्मचारी कार्यरत छन्।
कर्मचारीको ज्ञान, सीप र रुचिलाई ध्यानमा राखी कार्यविभाजन गर्ने नीतिले कार्यालयको उत्पादकत्व बढाएको छ। नियमित तालिम, कार्यशाला र क्षमता विकास कार्यक्रमहरूले कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गरेका छन्।
अन्तरपालिका सम्बन्ध र सहकार्य
नगरपालिकाले सङ्घ, प्रदेश र अन्य स्थानीय तहसँग समन्वय र सहकार्यलाई जोड दिएको छ। स्वदेशी र विदेशी पालिकासँग भगिनी सम्बन्ध विस्तारका लागि पहल थालिएको छ। यस्ता सम्बन्धहरूले सांस्कृतिक आदानप्रदान, प्राविधिक सहयोग र आर्थिक साझेदारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। उदाहरणका लागि, मित्रराष्ट्रका पालिकाहरूसँगको सहकार्यले पर्यटन प्रवद्र्धन, प्राविधिक नवप्रवर्तन र अनुभव आदानप्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ।
संस्थागत क्षमता मूल्याङ्कन
सङ्घीय सरकारको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीअनुसार नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा ८०.२५% अङ्क प्राप्त गरेको थियो। आर्थिक वर्ष ०७९/०८० मा यो अङ्क ८३% पुगेको छ, जुन संस्थागत सुधार र कार्यक्षमताको सूचक हो। यो प्रगतिले नगरपालिकाको नीति, योजना र कार्यान्वयन प्रक्रियामा सुधार भइरहेको देखाउँछ।
पालिकाका अभियानहरूमा नागरिकको उत्साहजनक सहभागिताले सकारात्मक परिणाम ल्याएको नगरप्रमुख मिठाराम अधिकारीको भनाइ छ। यो पहुँच र सहभागिताले नागरिक र नेतृत्वबीचको दूरी घटाएर सुशासन र जवाफदेहीताको आधार बलियो बनाएको छ। नगरप्रमुखका अनुसार, नगरवासीले चाहेको बेला नेतृत्व उपलब्ध हुनुपर्छ भन्ने चाहनालाई सम्बोधन गर्न आफू घर–घरमा पुग्ने गरेको छ, जसले सम्बन्धलाई थप प्रगाढ बनाएको छ। “नागरिकहरूले हाम्रा योजनाहरूलाई स्वामित्व लिएर सहयोग गरेका छन्। उनीहरूको सुझाव र गुनासोलाई हामीले ‘हेल्लो बुढानिलकण्ठ डेस्क’ मार्फत तत्काल सम्बोधन गर्छौँ,” उनले थपे।
पूर्वाधार, शिक्षा र पर्यावरणमा दिगो विकासको खाका
बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत पूर्वाधार विकास, शिक्षा र पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर समृद्ध र समावेशी नगर निर्माणको खाका प्रस्तुत गरेको छ। यी क्षेत्रहरूमा प्रस्तावित नीति र कार्यक्रमहरूले नगरवासीको जीवनस्तर उकास्न, शैक्षिक गुणस्तर सुधार गर्न र वातावरणीय दिगोपन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शिक्षा: समावेशी र गुणस्तरीय शिक्षाको आधार
बुढानिलकण्ठ नगरपालिकाले “विद्यालय समुदायका लागि, समुदायको सहयोगमा” भन्ने मर्मलाई आत्मसात् गर्दै शिक्षालाई बालबालिकाको मौलिक हकको रूपमा स्थापित गर्न जोड दिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक उन्नयन वर्ष कार्यक्रमलाई निरन्तरता दिइएको छ। संस्थागत विद्यालयको सञ्चालन लागत न्यूनीकरण गरी सेवामूलक बनाउने नीतिले निजी क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वप्रति प्रेरित गरेको छ।
सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य र साझेदारीलाई प्रोत्साहन गर्न आपसी सिकाइ कार्यक्रम सञ्चालन गरिनेछ। प्रत्येक विद्यालयमा शिक्षक दरबन्दी, कक्षाकोठा, पिउने पानी, शौचालय, पुस्तकालय, क्यान्टिन, विज्ञान प्रयोगशाला र सूचना प्रविधिजस्ता न्यूनतम पूर्वाधार सुनिश्चित गरिनेछ। यस्तै, शैक्षिक क्षमता र पूर्वाधारको आधारमा विद्यालय वर्गीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
शिक्षकको शिक्षणस्तर जाँच्न प्रत्येक वर्ष योग्यता परीक्षा सञ्चालन गरी न्यूनतम अङ्क प्राप्त गर्न नसक्ने शिक्षकलाई सघन पेशागत विकास तालिममा सहभागी गराइनेछ। शिक्षकको मनोबल बढाउन स्वास्थ्य बीमा, कार्यसम्पादनमा आधारित प्रोत्साहन, बिदा बैङ्किङ, शिक्षक सम्मेलन र शिक्षा दिवसमा नगर शिक्षक पदक प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
नगरपालिकाले अपाङ्गता भएका, कुष्ठरोग, एचआईभी, एसिडपीडित वा दीर्घरोगी बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रम “मलाई अवसर देऊ, म सिक्न सक्छु” सञ्चालन गर्नेछ। निरक्षर युवा, गृहिणी र प्रौढका लागि वैकल्पिक शिक्षा कार्यक्रम “अब त पढौँ” लागू गरिनेछ। यस्तै, पूर्ण वेसहारा बालबालिकाका लागि “मेरो वडा, मेरो अभिभावक” कार्यक्रम सञ्चालन गरिनेछ।
बालसंरक्षण मापदण्ड लागू गरी विद्यालयलाई बालमैत्री बनाइनेछ। अभिभावक, शिक्षक र शिक्षिकालाई बाल अधिकार र प्रजनन स्वास्थ्यसम्बन्धी तालिम दिइनेछ। बालबालिकाको प्रतिभा विकासका लागि कला र साहित्य महोत्सव आयोजना गरिनेछ।
शिक्षा, प्रविधि र उत्पादनलाई जोडेर विद्यालय ब्रान्डिङ कार्यक्रम सञ्चालन गर्दै डिजिटल स्कूल निर्माणका लागि डिजिटल कन्टेन्ट, पेडागोजी र मूल्याङ्कन प्रणाली विकास गरिनेछ। बुढानिलकण्ठ प्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षालाई प्राथमिकता दिइनेछ। “बुढानिलकण्ठमा बसौँ, बुढानिलकण्ठमै पढौँ” कार्यक्रमले स्थानीय विद्यार्थीलाई नगरमै गुणस्तरीय शिक्षा प्रदान गर्नेछ।
बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको सन्दर्भमा, नगरपालिकाले यी मातृभाषाहरू सिक्ने बालबालिकाको अधिकार सुनिश्चित गर्नेछ। बालकुमारी माध्यमिक विद्यालय र श्रीराम आधारभूत विद्यालयलाई नमुना विद्यालयको रूपमा स्तर वृद्धि गरिनेछ। बुढानिलकण्ठ आवासीय विद्यालयलाई सबैको पहुँचयोग्य शैक्षिक केन्द्र बनाइनेछ।
सामुदायिक र संस्थागत विद्यालयको अनुगमनका लागि छुट्टै संयन्त्र स्थापना गरी नियमित प्रतिवेदन नगर कार्यपालिकामा पेश गरिनेछ। मिन्टेस्सोरी र गुरुकुल शिक्षाको नियमनका लागि नीति निर्माण गरिनेछ। विपन्न विद्यार्थीका लागि निःशुल्क शिक्षा र उच्च शिक्षाका लागि वित्तीय सहयोगको व्यवस्था गरिनेछ।
नगरप्रमुखले बुढानीलकण्ठ नगरपालिकालाई समुन्नत नगरपालिका बनाउने लक्ष्यसहित शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन्। “हामीले शिक्षा र स्वास्थ्यलाई आधारभूत आवश्यकताको रूपमा लिएका छौँ। यी क्षेत्रमा गुणस्तरीय सुधार ल्याएर नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध छौँ,” उनले भने। “हामीले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारलाई प्रोत्साहन गरेका छौँ। त्यसैगरी, स्वास्थ्य क्षेत्रमा पनि विकास गरेका छौँ,” उनले थपे। यी क्षेत्रमा भएको प्रगतिले नगरवासीको शैक्षिक र स्वास्थ्य सुविधामा पहुँच विस्तार भएको छ, जसले समावेशी विकासको आधार तयार गरेको छ।
पूर्वाधार विकास: व्यवस्थित र दिगो शहरीकरण
नगरपालिकाले सडक, ढल र अन्य पूर्वाधारको नियमित मर्मतसम्भारका लागि मर्मत शाखा गठन गरी सडक स्तरोन्नति, कालोपत्रे र ढलानलाई प्राथमिकता दिएको छ। ८ मिटरभन्दा फराकिला सडकलाई मुख्य बजार क्षेत्र र धोबीखोला करिडोरलाई केन्द्रीय सडक क्षेत्रको रूपमा विकास गरिनेछ। पैदलयात्री, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमैत्री सडक निर्माणमा जोड दिइनेछ।
न्यूनतम १३ फिट चौडाइ नभएका सडकमा कालोपत्रे र ढलान निरुत्साहित गर्दै मुख्य सडकलाई हरियाली, सुरक्षित र आकर्षक बनाउन ट्राफिक सङ्केत, सडक बत्ती र सौन्दर्यीकरण गरिनेछ। डोजरजस्ता ठूला उपकरण प्रयोग गर्नुअघि अनुमति अनिवार्य गरिनेछ।
कपनको डुबान समस्या समाधानका लागि बक्स कल्भर्ट निर्माण र बुढानिलकण्ठ सांस्कृतिक प्रतिष्ठान भवन निर्माणलाई प्राथमिकता दिइनेछ। निर्मित पार्कहरूको व्यवस्थित सञ्चालन र संरक्षण गरिनेछ। सडक, ढल, खानेपानी, सडक बत्ती र सिसिटिभीको डिजिटल प्रोफाइल तयार गरिनेछ।
सार्वजनिक भवन र पार्कहरूको संरक्षणका लागि सूचीकरण र मर्मत शुल्क तोकिनेछ। अपाङ्गता र बालमैत्री पूर्वाधार निर्माणमा जोड दिइनेछ। धन्यढिकुरो मन्दिरको संरक्षण र योगध्यान केन्द्र निर्माणलाई प्राथमिकता दिइनेछ। आइटी पार्क र औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ।
जग्गा वर्गीकरण र भू–उपयोग नीतिमार्फत व्यवस्थित शहरीकरण गरिनेछ। स्थानीय कला, संस्कृति र सम्पदालाई झल्काउने भवन निर्माण प्रोत्साहित गरिनेछ। आकाशे पुल, जेब्रा क्रस र व्यवस्थित पार्किङले सडक सुरक्षालाई बलियो बनाइनेछ।
“नगरवासीको इच्छा, खानेपानीको सुनिश्चितता” अभियानमार्फत प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याइनेछ। एकीकृत खानेपानी बोर्ड गठन गरी स्थानीय स्रोतको प्राथमिकता दिइनेछ। रिचार्ज बेल प्रणाली र परम्परागत कुवा, ढुङ्गेधाराको संरक्षण गरिनेछ। मुहानपोखरीदेखि बाँसबारीसम्मको पुरानो पाइप प्रतिस्थापन र आइतबारे पार्कमा ड्याम निर्माणका लागि समन्वय गरिनेछ।
नगर गौरव र क्रमागत योजनालाई प्राथमिकतामा राखी चैत्र मसान्तभित्र सम्झौता र जेठ मसान्तभित्र भुक्तानीको नीति लागू गरिनेछ। उपभोक्ता समितिमार्फत सञ्चालित आयोजनामा १०% जनसहभागिता अनिवार्य गरिनेछ। परियोजना बैङ्क बाहिरका आयोजना कार्यान्वयन गरिने छैन। प्रविधियुक्त प्रयोगशालाले निर्माणको गुणस्तर जाँच गर्नेछ।
पर्यावरण: हरियाली र स्वच्छ नगरको परिकल्पना
शिवपुरी राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा वन, वन्यजन्तु, चरा, पुतली र पानीका स्रोतको संरक्षण गरिनेछ। निकुञ्जलाई चरा र पुतलीको प्राकृतिक सङ्ग्रहालय घोषणा गरिनेछ। पर्यटक लक्षित पदमार्ग, विश्रामस्थल, शौचालय र भ्यू डेस्क निर्माण गरिनेछ। प्लास्टिक निषेधित क्षेत्र घोषणा र पर्यटक शुल्कको पारदर्शी व्यवस्थापन गरिनेछ।
“बुढानिलकण्ठ नगर हरियाली शहर” अभियानमार्फत सडक किनारा र सार्वजनिक स्थलमा वृक्षारोपण गरिनेछ। कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरी प्लास्टिक प्रयोग निरुत्साहित गरिनेछ। धोबीखोला, रुद्रमती र विष्णुमतीजस्ता नदीहरूको सरसफाइ अभियान सञ्चालन गरिनेछ।
“मेरो फोहोर, मेरै व्यवस्थापन” अभियानमार्फत फोहोरलाई स्रोतमै वर्गीकरण गरिनेछ। कुहिने फोहोरबाट घरमै मल बनाउन सहुलियत दिइनेछ। फोहोरको पुनःप्रयोग, कम्पोस्ट मल र गड्यौला मल उत्पादनलाई प्रोत्साहन गरिनेछ। सिसिटिभी र सूचनाबोर्डमार्फत सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना गरिनेछ।
प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली र सार्वजनिक–निजी साझेदारीमार्फत फोहोर सङ्कलन, ढुवानी र प्रशोधन गरिनेछ। फोहोरमैला श्रमिकको नियमित स्वास्थ्य जाँच र सङ्कलन केन्द्रको व्यवस्थापन गरिनेछ।
बुढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमले पूर्वाधार, शिक्षा र पर्यावरणमा दिगो र समावेशी विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। गुणस्तरीय शिक्षा, व्यवस्थित शहरीकरण र वातावरण संरक्षणमार्फत नगरपालिका “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर” बन्ने दिशामा अग्रसर छ। यी कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नगरवासीको जीवनस्तर उकास्न र नगरलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
नगरपालिकाको विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अपरिहार्य छ। नगरप्रमुखले यो समन्वयलाई आफ्नो नेतृत्वको बलियो पक्षको रूपमा उल्लेख गरे। “जनप्रतिनिधि र कर्मचारीहरूबीच उत्कृष्ट समन्वय छ। कर्मचारीहरूले योजनाहरू कार्यान्वयन गर्न निकै राम्रो सघाउ पुर्याएका छन्,” उनले भने। “मलाई कर्मचारीहरूबाट सधैँ सकारात्मक सहयोग प्राप्त भएको छ। उनीहरूको समर्पण र जिम्मेवारीबोधले हाम्रा योजनाहरू समयमै सम्पन्न भएका छन्,” उनले थपे। एकल सेवा केन्द्रको स्थापना, डिजिटल नागरिक वडापत्र र बुढानिलकण्ठ मोबाइल एपजस्ता प्रविधिमैत्री पहलहरू कर्मचारीहरूको सक्रियताले सम्भव भएको छ। यो समन्वय र प्रविधिको उपयोगले नीति निर्माणदेखि कार्यान्वयनसम्मका प्रक्रियालाई सहज र पारदर्शी बनाएर सुशासनको आधार बलियो बनाएको छ।
चुनौती र सम्भावनाहरू
बुढानीलकण्ठ नगरपालिकाले सुशासन, प्रशासन र सेवा प्रवाहमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। पारदर्शिता, जवाफदेहीता, प्रविधिमैत्री सेवा र नागरिक सहभागिताले नगरवासीलाई स्थानीय सरकारको अनुभूति गराएको छ। कानूनी संरचना, कर्मचारी व्यवस्थापन र प्रविधिको उपयोगले नगरपालिकालाई आधुनिक र प्रभावकारी स्थानीय तहको रूपमा स्थापित गरेको छ। चुनौतीहरूको सामना गर्दै “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर” को परिकल्पनालाई साकार पार्न नगरपालिका अग्रसर छ।
नगरपालिकाले सुशासन र सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरे पनि केही चुनौतीहरू छन्। साँघुरा गल्ली र सडक विस्तार, स्वच्छ पिउने पानीको व्यवस्थापन, फोहोर व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण र वडाहरूबीचको सडक सञ्जाल विकास प्रमुख चुनौती हुन्। यस्तै, दक्ष कर्मचारीको अभाव र प्रशासनिक जटिलताले पनि सेवा प्रवाहमा बाधा पुर्याएको छ।
यद्यपि, नगरपालिकामा पर्यटन, खेलकुद, आवासीय क्षेत्र र आध्यात्मिक केन्द्रको रूपमा विकासको प्रबल सम्भावना छ। बुढानिलकण्ठ मन्दिर र शिवपुरी राष्ट्रिय निकुञ्जजस्ता सम्पदाहरूले पर्यटनको आधार प्रदान गरेका छन्। फुटबल, क्रिकेट, साइक्लिङजस्ता खेलकुद गतिविधिका लागि हब बनाउने सम्भावना छ। यस्तै, हरियाली शहर र धार्मिक सर्किट निर्माणले नगरपालिकालाई थप आकर्षक बनाउनेछ।
बागमती प्रदेशको काठमाडौँ जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिका २०७१ मङ्सिर १६ मा चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महङ्काल, विष्णुबुढानिलकण्ठ र कपन गाउँ विकास समितिहरूलाई समायोजन गरी गठन भएको हो। २०७१ फाल्गुन २७ मा १९ वडालाई १३ वडामा पुनर्संरचना गरिएको थियो। नगरपालिकाको नाम यहाँको प्रसिद्ध बुढानिलकण्ठ मन्दिरबाट राखिएको छ।
भौगोलिक रूपमा यो नगरपालिका २७°४३’१९” देखि २७°४८’५०” उत्तरी अक्षांश र ८५°२०’९” देखि ८५°२३’२८” पूर्वी देशान्तरमा अवस्थित छ। समुद्री सतहबाट १,२८९ देखि २,६९९ मिटर उचाइमा रहेको यसको क्षेत्रफल ३४.८० वर्ग किलोमिटर छ। उत्तरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नुवाकोट, दक्षिणमा काठमाडौँ महानगरपालिका र टोखा, पूर्वमा गोकर्णेश्वर र पश्चिममा टोखा नगरपालिका छन्।
नगरपालिका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले समृद्ध छ। बुढानिलकण्ठ मन्दिर, खडग भद्रकाली, चण्डेश्वरी, नागी गुम्बा, कपन गुम्बाजस्ता धार्मिक स्थलहरू यहाँ छन्। उत्तरी भागमा शिवपुरी पर्वत र हरियाली जङ्गल छ भने दक्षिणी भागमा बाक्लो आवासीय बस्ती छ। विष्णुमती, रुद्रमती, धोबीखोलाजस्ता नदीहरूले नगरको सौन्दर्य र पर्यावरणीय सन्तुलनमा योगदान पुर्याएका छन्।
आर्थिक रूपमा सेवा, व्यापार र कृषिमा आधारित यो नगरपालिकामा ठूला उद्योगहरूको अभाव छ, तर साना तथा घरेलु उद्योग र सेवामूलक व्यवसायहरू सञ्चालित छन्। दुग्धजन्य उत्पादनको बजार राम्रो छ। पर्यटनलाई आर्थिक विकासको प्रमुख सम्भावनाको रूपमा लिइएको छ, जसका लागि पर्यटन गुरुयोजना र बोर्ड गठन गरिएको छ।







