काठमाडौँ । कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए ।
कानुनमन्त्रीले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको उनको आरोप थियो ।
सांसद सिंहलाई सभामुख घिमिरेले नाम नलिएर आफ्ना अभिव्यक्ति राख्न आग्रह समेत गरेका थिए ।
त्यसको केही बेरपछि काँग्रेसकी सचेतक सुशीला थिङले कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा काँग्रेसको आपत्ति जनाइन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २३ अनुसार संसद्मा असम्बन्धित विषय राख्न नपाइने भन्दै उनले नियमापत्ति गर्न चाहेको बताइन् ।
‘सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ । तर कानूनमन्त्रीको कल डिटेलको कुरा सम्बद्धता भएन । त्यो रेकर्डबाट हटाइयोस्’ सचेतक थिङले भनिन् ।







