काठमाडौँ। नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् ।
सडक मार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक त्यहाँ पुगेका छन् ।
भारतीय पर्यटकहरू सिमिकोटदेखि हिल्सा हुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ-केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो मार्ग रोज्ने गर्छन् ।
सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला पुगेका थिए । उनका अनुसार यही असार २ गतेयता कैलाश मानसरोवर जानका लागि ३६२ भारतीय यात्री हवाई मार्ग हुँदै हुम्ला आएका छन् । यहाँबाट यात्रुहरू सडक र हवाई मार्ग हुँदै हिल्सा जान्छन् भने त्यहाँबाट सडक मार्ग हुँदै चीन प्रवेश गर्छन् ।







