काठमाडौँ । बैंकिङ कसुरमा साढे २ करोड रुपैयाँ बराबरको ६ वटा मुद्दा दर्ता भएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-२ का ४७ वर्षीय खड्गबहादुर कार्की छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट आइतबार पक्राउ गरेको हो । उनीविरुद्ध पाँच वटा बैंकिङ कसुरका मुद्दा रहेको पाइएको छ ।
एउटा बैंकिङ कसुरको मुद्दामा उनी दोषी ठहर समेत भएका थिए । २२ फागुन २०८० मा काठमाडौं जिल्ला अदालतले उनलाई १० दिन कैद र २० लाख जरिवाना हुने फैसला परेको थियो ।
यो बाहेक उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा पाँच वटा बैंकिङ कसुरका मुद्दाको उजुरी रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
परिसर काठमाडौंमा उनीविरुद्ध १२ जेठ २०८२ मा एक करोड २८ लाख रुपैयाँ बराबरको बैंकिङको मुद्दा रहेको खुलेको छ ।
त्यस्तै परिसर काठमाडौँमै २४ मंसिर २०८० मा ८० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा ४ मंसिर २०८१ मा ४ लाख, प्रहरी वृत्त मालिगाउँमा १२ चैत २०७९ मा २ लाख ५० हजार र प्रहरी वृत्त मालिगाउँमै ८ फागुन २०७९ मा २० लाखको बैंकिङ कसुर मुद्दा रहेको पाइएको छ ।
यी सबै मुद्दामा उनी फरार हुँदै आएका थिए ।







