काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले युवाहरूलाई पार्टी गरेको र गर्ने कामको सूचना दिनुपर्ने बताएका छन्।
शिवपुरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नजानेको बताएका हुन्।
उनले भने, ‘युवा साथीहरूले सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ, अहिले हाम्रो कमजोरी भनेकै सामाजिक सञ्जालमा सक्रियता नहुनु हो, हामी विरुद्ध संगठीत रूपमा नै गालीगलौज गर्छन्, माओवादीहरूले त हामीले गरेको कामलाई पनि आफूले गरेको भनेर हाल्छन्, अब हाम्रो साथीहरूले हाल्नुको सट्टा उनीहरूले नै गरेको हो कि भनेर अलमलमा पर्छन्।’
उनले विरोधीहरूले आफू विरुद्ध गरेको प्रचारको प्रतिवाद गर्नको लागि हरेक वडामा संगठित सञ्जाल नै बनाउनुपर्ने बताए। सामाजिक सञ्जालमा पार्टीको भूमिका कमजोर भएको भन्दै काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पनि नेताहरूले प्रश्न उठाएका छन्। बैठकमा पनि वडा तहबाटै सामाजिक सञ्जाल हेर्ने बेग्लै टिम बनाएर जानेबारे छलफल चलिरहेको छ।







