काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा राखेको सवाललगत्तै जवाफ फर्काएका छन् ।
‘प्रचण्ड’ले दुई तिहाइको सरकारले पहिलो निर्णयमै कीर्तीपुरमा ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला सम्पन्न गर्ने घोषणा गरेकोमा ३६५ दिन बितिसक्दा समेत ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट’ ? भन्दै सोधेका थिए ।
‘प्रचण्ड’ले यस्तो कार्यशैलीले सरकारको घोषणा केबल प्रचारबाजीमा सीमित भएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् कीर्तिपुरमा बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान सुझाएका छन् ।
ओलीले दाहाललाई प्रधानमन्त्री हुँदा केही गर्नु पनि नपरेको र नगरेको आरोप लगाए ।
उनले भने, ‘तपाईँ प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईँले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्य तथ्यांक राखेर तपाईँले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन । तपाईँका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ ।’
उनको थप भनाइ छ, ‘जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’







