काठमाडौँ । मुगुको सोरु गाउँपालिकाले करारमा लिएका कर्मचारीहरूलाई हटाउन थालेको छ ।
गाउँपालिकाले १५ औँ गाउँ सभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन संरचना अनुरूपको तोकिएका दरबन्दी संख्या भन्दा बढी रहेका करार र ज्यालादारी कर्मचारीहरू लाई हटाउन थालेको हो ।
करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दै गाउँपालिकाले करारमा राखिएका कर्मचारी हटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार आन्तरिक आयस्रोतबाट तलब भत्ता खाने गरी राखिएका करार कर्मचारीहरू हटाउन लागिएको हो ।
करारमा कर्मचारी धेरै भएकाले विकास बजेटमा प्रभाव परेको देखिएकाले पनि करार कर्मचारीसँगको कार्य सम्झौता रोक्न लागिएको डाँगीले बताए ।
डाँगीका अनुसार, कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १४ (१) बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन भन्ने व्यवस्था गरेकाले पालिकाले उक्त निर्णय गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘गाउँ कार्यपालिकामा चालू आर्थिक वर्ष २०८१/०८२ मा ज्यालादारी वा करारमा नियुक्ति भई कार्यरत सबै किसिम (प्रशासनिक, प्राविधिक तथा श्रेणी विहीन) का करार सेवा सम्झौता बमोजिम खटिएका कर्मचारीको साउन १ गतेबाट अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्म हाजिर नगर्न/नगराउन सरोकारवाला सबैमा निर्देशानुसार जानकारी गराइन्छ । यसको अवज्ञा गरी कुनै पनि कर्मचारीले कार्यालयमा हाजिर गरेमा वा गराएमा सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुने ब्यहोरा समेत सूचित गराइन्छ।







