काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा इप्पानको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।
देउवाले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । ‘अहिले उत्पादित विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ’ उनले भने, ‘लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्ने कुरै छैन ।’
जलविद्युत आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितो पत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने धारणा राखे ।
‘शेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितो पत्र बोर्डले चाँडै शेयर निष्कासन गर्नेछ, यसलाई रोक्नु हुँदैन,’ उनले थपे ।
ऊर्जा क्षेत्रलाई नेपालमा प्रकृतिले दिएको सम्पत्तिको संज्ञा दिँदै देउवाले हरित ऊर्जामा बढी जोड दिन पनि आग्रह गरे ।
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको स्पष्ट पारे । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने बताए ।
निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै देउवाले आज देशभित्र लोडसेडिङ नरहेको उल्लेख गरे ।







